Wednesday, September 29, 2010

विश्वमा 'मिडिया मनिटरिङ'

समाचार र सञ्चारको प्रस्तुतिमा महिलाहरूको अझै पनि अल्प प्रतिनिधित्व र गलत प्रतिनिधित्व हुँदैछ, तथापि १५ वर्ष अघि र आजको अवस्थामा महत्वपूर्ण परिवर्तन भने आएको छ ।
ग्लोबल मिडियो मनिटरिङ प्रोजेक्टले विश्वका १०८ मुलुकमा सन् २०१० मा एकैसाथ एकै दिन लैङ्गिक विषयमा गरिएको सञ्चार अनुसन्धान (मिडिया मनिटरिङ) मा देखिएको तथ्य हो यो ।
सन् १९९५ देखि संयोजित सो प्रोजेक्टद्वारा नियमितरूपमा गरिएको सो अनुसन्धानले समाचारमाध्यममा देखिने विश्व मूलतः पुरूषहरूको हुने गरेको तथ्य देखिएको छ, जसअनुसार विश्वका समाचारमा सुनिने वा पढिने ७६ प्रतिशत् सङ्ख्या पुरूष भएको देखिन्छ ।
विश्वका ८२ प्रतिशत जनसङ्ख्या रहेको १०८ मुलुकका एक हजार ३६५ पत्रपत्रिका, टेलिभिजन र रेडियो स्टेसन तथा इन्टरनेट समाचार साइटका १७ हजार ७९५ समाचार र ३८ हजार २५३ समाचारमा रहेका व्यक्तिबीच अरबी, अङ्ग्रेजी, फ्रेन्च र स्पेनिस भाषामा सार्वजनिक गरिएको सो अनुसन्धानले विश्वका एक दिनको समाचारमा २४ प्रतिशत स्थान महिलाको समाचार देखिन्छ ।
अनुसन्धानले प्रकाशित समाचारमध्ये १३ प्रतिशत समाचार मूलतः महिलामाथि केन्द्रीत भएको, समाचारमा आउने विज्ञमा पाँच विज्ञमा एक महिला रहेको, पुरूषको तुलनामा महिलाको उमेर दुई गुणा बढी पटक र पारिवारिक हैसियत चार गुणा बढी पटक उल्लेख हुने, इन्टरनेट समाचारमा जेन्डरसम्बन्धी पूर्वाग्रह भेटिएको देखाएको छ ।
नेपालमा सो प्रोजेक्टअन्तर्गत अस्मिता महिला प्रकाशनगृह र सञ्चार तथा स्रोत संस्थाको संयोजनमा एक दिन नेपालका प्रमुख सात राष्ट्रिय दैनिक, रेडियो नेपालको ७ बजेको समाचार, उज्यालो ९० नेटवर्कको ८ बजेको नेपाल दर्पण, नेपाल एफएमको नेटवर्कको बेलुका ८ बजेको नेपाल सेरोफेरो र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारको अनुगमन गरी आज राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरिएको छ ।
प्रतिवेदनअनुसार नेपाली समाचारमाध्यम अझै पनि लैङ्गिक समानता र महिला सशक्तीकरणको हितैषी बन्न धेरै प्रक्रिया पूरा गर्न बाँकी छ । सन् २००९ नोभेम्बर १० का दिन नेपाली मिडियामा गरिएको सो अनुसन्धानमा नेपाली मिडियामा समाचार सबैभन्दा मुख्य विषय राजनीति र सरकारसम्बन्धी छ, जसले पत्रपत्रिकाको ६६ प्रतिशत, रेडियोको ४२ प्रतिशत र टेलिभिजनको ४३ प्रतिशत समाचार ओगटेको देखिन्छ ।
महिला र पुरूषको समाचारको तुलना गर्दा महिलाको तुलनामा पुरूषको समाचारमा उपस्थिति अत्यधिक रहेको देखिन्छ । सो एक दिनमा महिला र पुरूषको क्रमशः पत्रपत्रिकामा ११ र ८३ प्रतिशत, रेडियोमा १९ र ८१ प्रतिशत र टेलिभिजनमा १४ र ८६ प्रतिशत छ ।
समाचार सम्प्रेषमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तीनवटै माध्ययमा आएका समाचारमध्ये २० प्रतिशत समाचार महिला र ८० प्रतिशत समाचार पुरूष प्रस्तोताले सम्प्रेषण गरेको देखिन्छ ।
एक दिनको अनुसन्धानमा केन्द्रीय विषयका कुल १० समाचारमध्ये एक समाचार पनि महिला संवाददाताले सम्प्रेषण गरेको देखिन्न भने सो दिन एक जना पनि महिला पत्रकारको बाइलाइन प्रयोग भएको देखिएन।
त्यस्तै अनुगमन गरिएका १८९ समाचारमध्ये चारवटा समाचारले मात्र लैङ्गिक विषयलाई समेटेको देखिन्छ ।

(काठमाडौं, १३ असोज २०६७)

No comments:

Post a Comment