Thursday, September 9, 2010

विश्व प्रतिस्पर्धात्मक प्रतिवेदन २०१०/०११

विश्व प्रतिस्पर्धात्मक प्रतिवेदन (२०१०/११) ले स्वीट्जरल्याण्ड सबभन्दा बलियो देश भएको देखाएको छ भने नेपालको स्थान एकसय ३० औं मा परेको छ ।
विश्व आर्थिक मञ्चले 'माइक्रो र म्याक्रो' अर्थतन्त्रको विश्लेषण गरी विगत तीन वर्षदेखि प्रकाशन गर्दै आएको प्रतिस्पर्धात्मक प्रतिवेदन आज विश्वभर झैं नेपालमा पनि सार्वजनिक गरियो ।
नेपालमा त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) ले यस अनुसन्धानको जिम्मेवारी लिंदैआएको छ ।
यस वर्ष १३९ देशबाट अध्ययन गरिएको र त्यसमा नेपाल १३० औंमा परेको हो ।
गत वर्ष एकसय ३३ औं देशहरूमा नेपाल एकसय २५ औंमा परेको थियो ।
अध्ययनमा एडम स्मिथको श्रम विभाजन र विशिष्टता, नवउदारवादको भौतिक पूँजी र संरचना, शिक्षा र तालिम, आर्थिक स्थायित्व, सुशासन, बजार व्यवस्थापनजस्ता विभिन्न १२ वटा सैद्धान्तिक आधार तय गरिएको थियो ।
प्रतिवेदनमा दस बलिया देशमा स्वीट्जरल्याण्डपछि क्रमशः स्वीडेन, सिंगापुर, अमेरिका, जर्मनी, जापान, फिनल्याण्ड, डेनमार्क र क्यानाडा छन् ।
यसैगरी दस कमजोर देशमा चाड, अंगोला, बुरुण्डी, जिम्बाबे, मोरिटानिया, बुर्किना फासो, टिमोर लेस्ते, माली, मोजाम्बिक र नेपाल छन् ।
प्रतिवेदनमा चीनको स्थान २७ औंमा देखाइएको छ भने दक्षिण एसियामा भारतको स्थान राम्रो अर्थात् ५१ औंमा परेको छ ।
बलिया देखिएका मुलुकमा शिक्षा, दक्षता, प्रविधि र स्वास्थ्यमा राज्यको प्राथमिकता, सार्वजनिक संस्थाहरूमा व्यावसायिकता, रोजगारको प्रवन्ध तथा काममा दण्ड एवम् पुरस्कारको नीति अपनाइएको प्रतिवेदनमा उल्लेख छ ।
(काठमाडौं, २४ भदौ २०६७)

No comments:

Post a Comment